कृषिमा रुपान्तरणका लागि सरकारले बजेटको व्यवस्थापन गर्छ – मन्त्री श्रेष्ठ

तामसालिङ खबर
२३ चैत्र २०७८, बुधबार ०७:३२

चैत्र, काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले देशको आयस्रोतलाई कृषिमा रुपान्तरणका लागि सरकारले बजेटको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-१० चित्तपोलमा सञ्चालनमा आएको मल्टी चेम्बर कोल्डस्टोरको उद्घाटन गर्दै उहाँले कृषिमा देशलाई आत्मनिर्भर बनाउन जनतालाई आकर्षित गर्न सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

कृषिको बजार विस्तार एवं व्यवस्थापनसँगै कृषिउपजको संरक्षणका लागि यस प्रकारको कोल्डस्टोर अन्य क्षेत्रमा पनि सञ्चालनमा ल्याइने भन्दै उहाँले देशको आयातमुखी अर्थ व्यवस्थालाई निर्यातमुखीमा लैजान सरकार लागिरहेको धारणा राख्नुभयो ।

आफ्नै भूमिको मालिक बन्न नसकेका वर्षौंदेखि लालपुर्जाविहीन सुकुम्बासी, भूमिहीन र दलित २० हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लालपुर्जा वितरण गर्दा वास्तविक व्यक्तिको पहिचान गरेर मात्रै दिने गरेका छौँ, कोही नक्कली व्यक्तिले लालपुर्जा पाउँदैनन् ।”

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सरस्वती वाटी, प्रतिमा श्रेष्ठलगायतले कृषिको महत्वमाथि प्रकाश पर्नुभएको थियो । कार्यक्रममा जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष सनिश लागेजुले सूर्यविनायक नगरपालिका-१० ले उपलब्ध गराएको सात रोपनी जग्गामा बागमती प्रदेश सरकारको रु १२ लाख ५० हजार र सङ्घको रु १२ लाख ५० हजारको लागतमा कोल्डस्टोर निर्माण गरी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*