माओवादी केन्द्रको उम्मेदवार छनौटका लागि यी हुन्, ६ बुँदे मापदण्ड

तामसालिङ खबर
२० चैत्र २०७८, आईतवार १५:०८

चैत्र, काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले ‘विशेष परिस्थितिमा’ बाहेक आसन्न स्थानीय तहको निर्वाचनमा विगतका जनप्रतिनिधिहरुलाई उम्मेदवार नबनाउने भएको   छ ।

प्रभावकारी काम गराउन र नयाँलाई पालो दिने उद्देश्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवार छनौट तथा सिफारिसका लागि छ बुँदे मापदण्ड सहितको विशेष सर्कुलर जारी गर्नुभएको हो ।

२०७४ सालको निर्वाचनमा माओवादीले जितेका नगरपालिका र गाउँपालिकामा राम्रो कार्यसम्पादनको नजित आएपछि उम्मेदवार चयनमा थप ध्यान दिइएको नेताहरुले बताएका छन् ।

अध्यक्ष प्रचण्डले जारी गर्नुभएको मापदण्ड अनुसार
– उम्मेदवार छनौट गर्दा विशेष परिस्थितिबाहेक पुराना प्रतिनिधिलाई नदोहोर्‍याउने
– देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
– स्वच्छ छवि भएको हुनुपर्ने
– विजयको संभावना भएको लोकप्रीय व्यक्ति हुनुपर्ने
– पार्टी अनुशासनप्रति निष्ठावान रहेको
– समानुपातिक, समावेशीलाई विशेष ध्यान दिनुपर्ने

पार्टीको उक्त निर्देशन सँगै दोहोरिने मनस्थितिमा रहेका प्रतिनिधिहरुको चाहनामा धक्का लागेको र आकांक्षी नेता, कार्यकर्ताहरु उत्साहित भएको माओवादी वृत्तमा चर्चा चलेको देखिन्छ । माओवादीले अघिल्लो निर्वाचनभन्दा पार्टी मजबुत रहेकोले यसपटक नतिजा राम्रो आउने दाबी गरिरहेको छ । झनै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसँग तालमेल गरेमा नतिजा पार्टीको चाहना अनुसार आउने आकलन पनि गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*