टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

पत्रपत्रिकाबाट
१० चैत्र २०७८, बिहीबार ०६:४५

चैत्र, काठमाडौं – नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ ।

कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिको परिकल्पना गरेको छ । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् ।

यी सबै तहमा १५ चैतभित्रै संसदीय समिति बनाउन पार्टीका सम्बन्धित तहलाई निर्देशन गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उनी र अर्का महामन्त्री गगन थापाले संसदीय समिति बनाउन भन्दै केन्द्रबाट हस्ताक्षर गरी पत्र नै पठाएका छन् ।

कांग्रेस विधानको धारा ३३ मा संसदीय समितिको गठन’ उल्लेख छ । सो धाराको (१) मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिना पूर्वअन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा भनिएको छ ।

निर्वाचन आयोगले १२ र १३ वैशाखमा उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको अवस्थामा भने कांग्रेसले विधानमा उल्लेख भएअनुसार ११ चैतअघि नै संसदीय समिति बनाएर उम्मेदवार छान्ने प्रक्रिया टुंग्याइसक्नुपर्ने थियो । अहिले कांग्रेसका सबै तहमा धमाधम संसदीय समिति गठन गर्ने काम सुरु भएको छ । यो खबर आजको राजधानी दैनिकमा छाएिको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*