नेपालमा कोरोनाको तेस्रो चरणको लहर सुरु हुन थालेको विज्ञहरूको विश्लेषण

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार १२:३२

पुष, काठमाडौ – विज्ञहरूले नेपालमा पनि कोरोना महामारीको तेस्रो चरणको लहर सुरुवात भएको बताउन थालेका छन् । सरकारका अनुसार पछिल्लो एक सातामै झन्डै तेब्बरले कोरोना सङ्क्रमण दर बढेको हुँदा नेपालमा पनि तेस्रो चरणको लहर सुरु भएको हुन सक्ने आँकलन गर्न थालिएको हो ।

छाति रोग विशेषज्ञ डा.निरज बमले नेपालमा पछिल्लो एक सातामा जुन गतिमा सङ्क्रमणदर बढेको छ त्यसलाई तेस्रो चरणको लहर भन्न सकिने बताउनुभयो । उहाँका अनुसार दिनकै दोब्बर र तेब्बरका दरले सङ्क्रमित थपिनु जोखिमको सङ्केत हो । त्यसकारण यसलाई सामान्य नठान्न पनि उहाँले आग्रह गर्नुभयो ।

एक साता अघि मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले माघको दोस्रो साताबाट नेपालमा कोरोना सङ्क्रमणको दर उच्च हुने प्रक्षेपण गरेको थियो । तर, त्यसअघि नै सङ्क्रमण दर उच्च हुनुलाई कोरोनाको तेस्रो लहरको सुरुवातका रुपमा बुझ्न सकिने डा.बम बताउनु हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधिकारिक रुपमा तेस्रो लहर सुरु भएको घोषणा गरिसकेको छैन । तर, मन्त्रालयकै अधिकारीहरूले अनौपचारिक कुराकानीमा तेस्रो लहर हो भन्न थालेका छन् । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले पछिल्लो समय कोरोना सङ्क्रमित थपिने दरलाई हेर्दा नेपालमा पनि तेस्रो चरणको लहर सुरु हुन थालेको बताउनुभयो ।

उहाँले कोरोनाको तेस्रो चरणको लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले यसअघि नै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको पनि बताउनुभयो । कोरोना सङ्क्रमित बढ्दै जाँदा यसअघिको पहिलो र दोस्रो लहरमा जस्तो मृत्यु हुनेदर बढेको छैन ।

यसलाई कतिपय विज्ञहरूले तेस्रो लहरको कमजोर प्रभावका रुपमा व्याख्या गरे पनि कोरोनाले महामारीको रूप नलियोस् भन्नका लागि सावधानी अपनाउन छोड्नुहुँदैन । विश्व स्वास्थ्य सङ्गठनले पनि ओमिक्रोनको सङ्क्रमण गराउने दर बढी रहेकाले यसलाई सामान्य नठान्न भनिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*