राक्सिराङ र कैलाशमा पूर्ण खोप लगाउन जनप्रतिनिधिहरुको प्रतिवद्धता

तामसालिङ खबर
२५ पुष २०७८, आईतवार १०:४९

पुष, हेटौडा (राक्सिराङ) – ग्रामीण भेगका नागरिकहरुमा कोरोना भाइरस विरुद्धको खोप प्रयोगकर्ताको संख्यामा कमी भएपछि जिल्ला खोप समन्वय समितिले चासो राखेको छ ।

विहीबार राक्सिराङ र कैलाश गाउँपालिकामा आयोजित कोभिड १९ विरुद्ध खोपको बृहत अन्तरक्रिया कार्यक्रम मा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लाका राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउँपालिका हरुमा नागरिकले कोरोना विरुद्धको खोप लगाउनेको संख्या निकै कम भएको भन्दै जनप्रतिनिधिहरुले चासो राख्नुपर्ने बताए ।

खोपको बारे गलत भ्रामक समाचार फैल्याइएको भन्दै प्रजिअ पाण्डेले यस्तो गलत सुचना फैलाउनेलाई खोप ऐन अनुसार कारवाही गरिने बताए । स्थानीय तहले नागरिकलाई पूर्ण खोप लगाउन अग्रसर हुनुपर्ने बताउदैं खोप अभियान तीव्र बनाउन क्षमता विकासका कार्यक्रम लागु गर्न समेत आग्रह गरेका छन् । राक्सिराङ गाउँपालिकामा २७ प्रतिशतले मात्र खोप लगाएको पाइएकोले बाकीँ नागरिकले तत्कालै खोप लगाउन आग्रह गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भूगोलको हिसाबले समस्या रहेको बताउदै दुइ साता भित्र गाउँपालिकामा सतप्रतिशत खोप लगाइने प्रतिवद्धता व्यक्त गरे । गाउँका मान्छेमा खोपको बुझाई कमी भएको भन्दै आफुलाई गाउँपालिकामा राजनितिक सहयोग नभएको गुनासो पोखे । कर्मचारीको भरमा कामको आशा गर्दा यस्तो समस्या देखिएको बताउदैं तत्काल सर्वदलीय बैठक बोलाएर खोप अभियान सञ्चालन गरिने बताए ।

कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवालाले भूगोलको समस्याले गर्दा खोप लगाउन जटिल रहेको बताउदैं खोप व्यवस्थापनमा पनि समस्या देखिएका औलाएको थिए । उनीहरुले खोप नलगाउने नागरिकलाई स्थानीयतहबाट दिने सेवा सुविधा रोक्न सकेमात्र सतप्रतिशत खोप लगाउने अभियान सफल हुने बताएका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष निर्मला हिमडुङ, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मकवानपुरका उप अनुसन्धान निर्देशक पप्पु शर्मा, नेपाली सेनाका सेनानी गुणराज अधिकारी, सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेस श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, औषधि व्यवसायी संघको अध्यक्ष नारायण श्रेष्ठ, पुरानो नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाई, गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै कैलाश गाउँपालिकामा भएको कार्यक्रममा कार्यवहाक अध्यक्ष सुकुमाया थिङले गाउँपालिकामा कोरोना विरुद्ध खोपको प्रयोगकर्तामा कमी भएको स्वीकार गर्दै चेतनाको कमीले यस्तो भएको बताइन् ।

उनले एक महिना भित्र सबै वडामा खोप अभियान सञ्चालन गरि खोप लगाउने कार्ययोजना तयार पारेको समेत बताइन् । कार्यक्रममा प्रशासकीय अधिकृत देवराज चौलागाईले भौगोलिक अवस्थाले नागरिकलाई खोप लगाउन नसकेको भन्दै अब सबै नागरिकलाई खोप लगाइने अभियान सुरु गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*