प्रतिद्धन्द्धी उम्मेदवार लम्साललाई थाहै नदिई जिल्ला कमिटी घोषणा गरेको प्रति असन्तुष्टी

तामसालिङ खबर
२५ पुष २०७८, आईतवार १५:३५

पुष, हेटौंडा – नेकपा एमाले मकवानपुरमा पदाधिकारी र खुला सदस्य सर्वसम्मत निर्वाचित भएको जानकारी गराइएको छ । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत भएको जनाइएको छ । तर, पदाधिकारीका प्रतिद्धन्द्धी उम्मेदवारलाई थाहै नदिई जिल्ला कमिटी घोषणा गरेको पाइएको छ ।

उम्मेदवारहरुले सर्वसहमतिको नाममा गुटको राजनीति गरेको आरोप लगाउँदै असन्तुष्ट पोखेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार बद्री लम्साल भने अचम्ममा परेका छन् । अध्यक्षमा श्रेष्ठ र लम्सालले दावी नछोडेपछि सहमति हुन नसक्दा शनिवार दिउँसो निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

निर्वाचन समितिले आइतबार बिहान ८ बजेदेखि मतदान हुने जानकारी नेता र कार्यकर्तालाई गराएको थियो । तर, आइतबार बिहान हेटौंडा–४, स्थित पार्टी कार्यालयमा नाम पढेर पदाधिकारीको नाम टुंग्याइएको छ ।

एमाले मकवानपुरको ११ औं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिव (खुला)मा हिदम लामा र उपसचिव (महिला)मा सिता विष्ट सर्वसम्मत भएको जनाकारी गराइएको हो ।

अध्यक्षका उम्मेदवार लम्साल र श्रेष्ठ अघोषित रुपमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । सहमति नहुने छाँटकाँट देखिएपछि लम्साल र श्रेष्ठले प्यानल नै बनाएर निर्वाचनमा जाने सक्ने तयारी गरेका थिए ।

लम्सालको प्यानलबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवमा हिदम लामा र सिता विष्टले उम्मेदवारी दिएका थिए । श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवमा मदन दहाल र पार्वती राना थिए ।

अध्यक्षका अर्का उम्मेदवार लम्सालले घरमै बसेर अध्यक्षमा श्रेष्ठ चुनिएको खबर पाएको बताएका छन् । ‘आइतबार बिहानसम्म अझै सहमतिको प्रयास हुन्छ भन्ने थियो । म घरमै थिएँ, उता अध्यक्ष नै टुंगिएछ,’ लम्सालले भने । उम्मेदवारी नै फिर्ता नलिई कसरी सर्वसहमति भयो भन्दै लम्सालले प्रश्न गरेका छन् । ‘मेरो अध्यक्षमा उम्मेदवारी थियो । मलाई कसैले उम्मेदवारी फिर्ता लिन अनुरोध पनि गरेको छैन् । मैले उम्मेदवारी कायमै राखेको छु तर, सर्वसम्मत चाँही कसरी भयो ?,’ उनले भने ।

सर्वसहमतिको नाममा आफूमाथि अन्याय भएको लम्सालले बताए । उनले सर्वसहमति नै नभएको ठाउँमा सर्वसम्मत भयो भनेर नाम पढेर घोषणा गर्नु उचित नभएको प्रतिक्रिया दिए । निर्वाचन सम्बन्धी कानुनी प्रक्रिया नै पूरा नगरी सर्वसहमति भनिएकोले आफू कानुनी उपचारमा जाने लम्सालको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*