छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ – मुख्यमन्त्री शाही

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार ०६:४३

पुष, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब भने छिट्टै प्रदेश सरकार विस्तार गरिने उहाँले बताउनुभएको हो ।

नेपाल प्रेस युनियन सल्यानले  सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको बताउनुभयो ।

उहाँले सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डाका कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने हल्ला गलत भएको भन्दै राजनीतिक दलहरूका चुनावी कार्यक्रमले नै ढिलाइ भएको उल्लेख गर्नुभयो । “विविध कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो, तर अब तत्कालै यसले पूर्णता पाउँछ, दलहरुले नाम टुङ्गो लगाएर पठाएपछि विस्तारमा कुनै समस्या हुँदैन,” उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा पनि मन्त्रालयहरुको कामकारबाही रोकिएको छैन ।”

आफ्नो नेतृत्वको सरकार क्रम भङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने उहाँले बताउनुभयो । “मुख्यमन्त्री भएपछि ठूलै काम गर्छु केही भन्दिन, यो सरकार गठबन्धनको सरकार हो, राम्रा कामलाई निरन्तरता दिन्छौँ, नराम्रा काम सच्याएर अघि बढ्छौँ,” उहाँले भन्नुभयो ।

कर्णाली प्रदेश सरकारले जनताका दैनिक जनजीविकासँग सम्बन्धित कार्यलाई आफूले पहिलो प्राथमिकतामा राखेको उहाँको भनाइ छ । उहाँले कर्णाली प्रदेशलाई समृद्ध बनाउन छ ‘ब’ लागू गर्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेशले सुनको थालीमा भिख मागिरहेको बताउँदै उहाँले ६ ‘ब’ लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने दाबी गर्नुभयो ।

६ ‘ब’ अन्तर्गत बाटो, बिजुली, विचार (सूचना प्रविधि), वन, बजार र व्यवस्थापनमा ध्यान र जोड दिन सके प्रदेशलाई धनी र समुन्नत बनाउन सकिने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीले जनताले महसुस गर्ने गरी विकास निर्माणका कामहरु सञ्चालन गरिने बताउनुभयो ।

लुम्बिनी प्रदेशलाई कर्णाली प्रदेशसँग जोड्ने राप्ती लोकमार्गको जीर्ण अवस्थाका बारेमा आफू जानकार रहेको भन्दै उहाँले यसको स्तरोन्नतिका लागि पहल गर्ने बताउनुभयो । यस्तै खलङ्गाबाट सुर्खेत जोड्ने कुपिण्डे बालुवासङ्ग्रही सडकलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*