कांग्रेस महाधिवेशन: पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा देखिए ओली, दाहाल र नेपाल

तामसालिङ खबर
२४ मंसिर २०७८, शुक्रबार १५:१०

मंसिर, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिएका हुन् ।

रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी भएका छन् । पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।

पुस ४ गते खुमलटारस्थित दाहाल निवासमै पुगेर ओलीले आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए । उनले प्रस्ताव फिर्ता नभए आफू जस्तोसुकै अप्रिय कदम चाल्न पनि पछि नपर्ने संकेत गरेका थिए । त्यही संकेतअनुरुप नै उनले पुस ५ गते बिहान प्रतिनिधिसभा विघटनको निर्णय गरे । त्यस्तै ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।

एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि दाहाल सहभागी भएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो । एमालेले भने एकीकृत समाजवादी पार्टीलाई अवैधानिक करार गर्दै निम्तो नै पठाएको थिएन । एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ ।

त्यस्तै कांग्रेस महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायतका नेता पनि सहभागी भएका छन् ।

कांग्रेस महाधिवेशनमा सहभागी हुन भारतबाट भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र हरीश द्विवेदी, भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिक तथा बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरिया पनि आएका छन् । – कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*