माओवादीका १२ युवाले पाए, पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १०:१९

मंसिर, काठमाडौं – नेकपा माओवादी केन्द्रका १२ युवाले पार्टीको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् ।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेता सहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल (क्रान्तिकारी)का पूर्वनेताहरू रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी रहेका छन् । उनीहरूमध्ये ढकाल, न्यौपाने, विष्ट र तामाङ क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् भने बस्नेत, भण्डारी, देवकोटा र गौतम पूर्व उपाध्यक्ष हुन् । अर्का नेता अधिकारी पूर्वमहासचिव हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रमा २० प्रतिशत युवा भित्र्याउने नीति अनुसार उनीहरूलाई पार्टी केन्द्रमा लाने घोषणा गत असोजमै गरेका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय प्रतिनिधिमा लगिएका अन्य तीन जना नेतामा नुवाकोटका श्रीकृष्ण अधिकारी, जाजरकोटका गगन खड्का र रुकुम पश्चिमका पारसमणि रहेको जानकारी दिए ।

यसअघि माओवादी केन्द्रको पार्टी जिल्ला इन्चार्ज रहेका तर केन्द्रीय समितिमा नरहेका नेताहरूलाई पनि पार्टी केन्द्रीय प्रतिनिधिमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*