कांग्रेसको बागमती प्रदेश अधिवेशन हेटौडामा सुरु हुँदै

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ०८:३१

मंसिर, हेटौंडा – नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । आज दिउँसो २ बजे हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन संस्थानको मैदानमा कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्दैछन् ।

अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ भने अधिवेशन उद्घाटन पूर्व हेटौंडाको बुद्धचोकबाट करिब १० हजार जना नेता कार्यकर्ता सहितको ¥याली निकालिनेछ ।

प्रदेशका १३ वटै जिल्लाबाट आउने प्रदेश प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि, पदाधिकारीहरु, केन्द्रीय नेता लगायतलाई खाना र आवासको प्रबन्ध मिलाइएको उनले बताए । अधिवेशनको व्यवस्थापनको लागि जिल्लाका नेताहरुलाई संयोजक तोकेर जिम्मेवारी बाँडिएको छ ।

कार्यक्रमको लागि कांग्रेसले प्रहरी सुरक्षाको अतिरिक्त पार्टीकै स्वयम्सेवक पनि खटाउने बताइएको छ । बागमती प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रमको अध्यक्षतामा गर्नको लागि पार्टीले कांग्रेस नेता प्रकाशमान सिंहलाई खटाएको छ ।

अधिवेशनअन्तर्गत आज उद्घाटन सँगै मतदाता नामावली सार्वजनिक गर्ने, भोलि शुक्रबार मनोनयन दर्ता र शनिबार मंसिर १८ गते प्रदेश सभापति सहित पदाधिकारी र सदस्य चयनको लागि निर्वाचन गर्ने कार्यतालिका रहेको प्रचारप्रसार समितिका संयोजक वुद्ध लामाले जानकारी दिए ।

अधिवेशनमा कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्दैछन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसीले सभापतिमा उम्मेदवारी दिने बुझिएको छ । – प्रदेश संचारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*