बीउ बिजन ऐनलाई अध्यादेश मार्फत जारी गर्छु – मुख्यमन्त्री पाण्डे

तामसालिङ खबर
१४ मंसिर २०७८, मंगलवार ०७:१८

मंसिर, हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रस्तरको बीउ बिजन ऐनलाई अध्यादेश मार्फत भएपनि जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेशको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई सोमबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तत्काल प्रतिनिधिसभाको बैठक नचलेपनि अध्यादेश मार्फत भएपनि ऐन जारी गर्ने बताउनुभएको हो ।

बागमती प्रदेश सरकारसंग भएका बीउ बिजन ऐन नियमावली बन्ने क्रममा रहेको जानकारी दिदैं मुख्यमन्त्री पाण्डेले त्यसलाई चांडै टुङ्ग्याएर पूणर् कार्यान्वयन गर्नतर्फ ध्यान दिने समेत बताउनुभयो । यस्तै, मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशको हेटौंडामै रहेको बीउ बिजन प्रयोगशालालाई पनि पूर्ण रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले नेपालले अझैपनि ८५ प्रतिशत तरकारीको बीउ आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिदैं बीउ बिजनमा देखिएका नीतिगत समस्यालाई सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्र समाधान गर्न सकिने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ बाली बिकास अधिकृत राजन ढकालले बीउ बिजन उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रतिकेजी खाद्यान्न बालीमा २० रुपैयाँ, दलहन र तेलहन बालीमा प्रतिकेजी ४० रुपैयाँ अनुदान उपलब्ध गराउदै आएको जानकारी दिनुभयो । प्रदेशको बीउ बिजन ऐनले गरेको प्रावधान अनुसार बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रलाई छिटै सञ्चालनमा ल्याइने समेत बताउनुभयो ।

बागमती प्रदेशको भूमि, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालयका निर्देशक रबिन्द्र बहादुर प्रधानले रासायनिक मलको माग, मूल्य र प्रयोग अत्याधिक बढ्दै गइरहेको अवस्थामा कृषकलाई प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहित गर्न बीउ व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल बीउ व्यवसायी महासंघका केन्द्रिय महासचिव बसन्तचन्द्र मरहठ्ठाले ९० प्रतिशत दर्ताबिनाको बीउ बेच्न बाध्य भएको बताउनुभयो । तरकारीमा सबैभन्दा बढि ८५ प्रतिशत बीउ दर्ताबिना नै बेच्नुपर्ने अवस्था छ । मल्टिनेशनल कम्पनीका बीउको परिक्षण गरेर बस्नुभन्दा नेपाली बीउ बिजनलाई प्राथमिकता दिएर अनुसन्धान परिक्षण गर्नेगरि कानुन बन्नुपर्ने उहाँको माग छ ।

कार्यक्रममा नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेशका निर्वतमान अध्यक्ष मित्रराज दवाडीले बीउ व्यवसायमा देखिएका नीतिगत समस्या तथा सुधारका उपायबारे प्रतिवेदन पेश गर्नुभएको थियो । संघका अध्यक्ष मणिदेब भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, बीउ व्यवसायी संघका प्रतिनिधी लगायतकाको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*