एमालेको राष्ट्रिय महाधिवेशन चितवनमा आजदेखि सुरु हुँदै

तामसालिङ खबर
१० मंसिर २०७८, शुक्रबार ०९:४७

मंसिर, चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । चितवनको नारायणी किनारामा हुने महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजेपछि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको नेकपा एमाले जनाएको छ ।

महाधिवेशन उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ । चितवनमा हुने महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गर्ने कार्यक्रम तय भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुनेछ ।

एमालेले चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएको हो । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ ।

महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि एमालेले अरू पार्टीलाई पनि निम्तो दिएको छ । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई एमालेले महाधिवेशनमा बोलाएको छैन। त्यसैले एमाले महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सर्वोच्च नेता झलनाथ खनाल देखिने छैनन्।

एमालेले देशभित्र र बाहिरका विभिन्न पार्टीहरूलाई महाधिवेशनका लागि बोलाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले भने एमाले महाधिवेशनमा भिडिओ सन्देश पठाउने भएको छ। भारत, बंगलादेश, श्रीलंकालगायत विभिन्न देशबाट भने विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै नेताहरू आउने कार्यक्रम रहेको एमालेले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज एमाले महाधिवेशन सम्बोधन गर्न चितवन जाने भएका छन्। उनी हेलिकप्टरबाट चितवन जाने कार्यक्रम छ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने भएका छन्। प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो। चितवनमा एमालेले महाधिवेशन गरेकोमा प्रचण्ड असन्तुष्ट छन्।

साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न जाने भएका छन्। अध्यक्ष ठाकुर बिहीबार नै चितवन पुगिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*