एमाले महाधिवेशनको लागि गैँडाको मस्कट तयार

तामसालिङ खबर
८ मंसिर २०७८, बुधबार १८:४७

मंसिर, चितवन – एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

चितवनमा १०-१२ मंसिर गते हुन लागेका महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।

एमालेले महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।

भरतपुर महानगरपालिका-९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रूपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो । विशेषगरी उनले गैँडा लगायतका जंगली जनावर, बुद्ध र शहीदका मूर्ति बनाउने गरेका छन् । उनले सुनसरी, उदयपुर, बुटवललगायतका स्थानमा गएर पनि मूर्ति बनाउने गरेका छन् । –रातोपाटी डटकमबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*