राहदानी विभागले आजदेखि ई-पासपोर्ट जारी गर्दै, के-के छन् सुविधा ?

तामसालिङ खबर
१ मंसिर २०७८, बुधबार ०७:१७

मंसिर, काठमाण्डौ – राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दै छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ ।

शुरुमा दैनिक सीमित संख्यामा मात्र ई-पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने विभागले जनाएको छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्।

समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई-पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।

राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग २ अर्ब ४८ करोड रुपियाँमा ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो ।

ई-पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोगका कारण अन्तर्राष्ट्रिय जगत्मै विश्वासिलो पनि मानिएको छ । यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ ।

यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्न सक्छ । बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ । यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ ।

ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। ६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा हुनेछ ।

त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*