महिला किसानले बेचे २२ करोडको खसी

तामसालिङ खबर
१७ कार्तिक २०७८, बुधबार ०७:००

कार्तिक, ढकेरी – बाँकेका बाख्रापालका महिला किसानले पाँच वर्षमा झन्डै २२ करोड रुपैयाँको खसी बेचेका छन् । जिल्लाका ८ स्थानीय तह मध्ये राप्तीसोनारी, खजुरा, बैजनाथ, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकामा समूह बनाएर बाख्रापालन गर्ने महिला किसानले १८ हजार ३२८ वटा खसी २१ करोड ७५ लाख ७९ हजार १६३ रुपैयाँमा बेचेको बाख्रापालक महिला किसानको संस्था सामाजिक उद्यमी जिल्ला सहकारी संघका व्यवसाय प्रबन्धक नविनकुमार साहुले जानकारी दिए ।

यो वर्षको दसैं र तिहारमा मात्र उनीहरुले एक करोड १८ लाखको खसी बेचेका छन् । एक हजार तीन सय खसी बेच्ने लक्ष्य रहेकोमा आठ सय १७ वटा मात्र बेचेका छन् । मंगलबार मात्र ८० वटा खसी बिक्रीका लागि काठमाडौं लगिँदै थियो । विगतमा कुतुवा प्रणाली (तौल नगरेर) खसी बेच्दा ठगिने महिला किसानले संघ स्थापना गरेर तौल गरेर बेच्छन्।

‘कुतुवामा बेच्दा हुने खसी खरिद बिक्रीका आधारमा पाँच वर्षको अवधिमा ४ करोड ३५ लाख १८ हजार रुपैयाँ ठगिनबाट जोगिएका छन्’, साहुले प्रष्ट पारे, ‘समूह बनेपछि किसानले व्यवसायिक रुपमा बाख्रा पालेर मनग्गे मुनाफा कमाइरहेका छन्। एउटा किसानले कम्तीमा पाँच वटादेखि बढीमा ५० वटा बाख्रा पालेका छन्।’

किसानले पालेका खसी संकलन गरेर सामाजिक उद्यमी जिल्ला सहकारी संघले स्थानीय बजार, काठमाडौं र पोखरामा लगेर बेच्ने गरेको छ। स्थानीय बजारमा जिउँदो खसीको मासु ५१० देखि ५४० सम्म कायम गरिएको छ ।

काठमाडौं पुग्दा मासुको मोल ६३५ सम्म पुग्छ। किसानले स्थानीय खरी, जमुनापारी, बाबरी र बोयर जातका खसी पालेका छन्। जिल्लामा बाख्रापालन गर्ने किसानको संख्या १३ हजार पाँच सय छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*