हावाहुरीले सप्तरीमा केरा बगानमा २५ लाखको क्षति

तामसालिङ खबर
११ कार्तिक २०७८, बिहीबार ०८:००

कार्तिक, सप्तरी – अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका-१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ ।

झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए ।

अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु.२५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताए ।

उनले भने, ‘सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो।’

छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उनले सुनाए । यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उनले लगाएको केराबाली नष्ट गरेको हो । वर्षा र हावाहुरीले लगाएका अधिकांश केराका बोट लडाएको छ ।

शिक्षण पेशा छाडेर कृषि पेशामा लागेकामा अहिले पछुतो लागिरहेको जनाउँदै दश वर्ष शिक्षण पेशामा आबद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचका साथ यो पेशामा लागेको बताए ।

बाली कृषि बीमाका लागि सम्बन्धित ठाउँमा निवेदन दिँदा हालसम्म त्यसको सुनुवाइ नभएको उनले गुनासो गरे । उनीसँगै अरु किसानको केरा बालीमा समेत क्षति पुगेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*