बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा
कार्तिक, काठमाडौं – बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर धमाधम बढाएर ११ प्रतिशतसम्म पुर्याएका छन् ।
बैंकहरूबीच उच्च ब्याजदरमा प्रतिस्पर्धा चलेको छ। गत असोजमा सनराइज बैंकले मात्रै सबैभन्दा आकर्षक अर्थात् १०.०७ प्रतिशतसम्मको वार्षिक व्यक्तिगत मुद्दतीको ब्याजदर घोषणा गरेको थियो । तर, कात्तिकदेखि लागू हुनेगरी ७ ओटा वाणिज्य बैंकले दोहोरो अंकमा र ११ ओटाले एकल अंकमै ब्याजदर बढेको घोषणा गरेका छन् । बैंकहरूले भने स्रोत जुटाउन सार्वजनिक सूचना जारी गर्दै निक्षेपको ब्याजदर दोहोरो अंकसम्म पुर्याएका हुन्।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंक र लक्ष्मी बैंकले ११ प्रतिशतको हाराहारीसम्म ब्याजदर निर्धारण गरेका छन्। यसबाहेक हिमालयनले १०.५०, सिद्धार्थले १०.३०, नेपाल बंगलादेश बैंकले १०.२८, नेपाल क्रेडिट एन्ड कमर्स बैंकले १०, सिभिल बैंकले १०.११ प्रतिशतसम्म वार्षिक ब्याजदर दिने घोषणा गरेका छन्।
गत असोजमा सबैभन्दा कम अर्थात् ७.२५ प्रतिशत दिएको कृषि विकास बैंकले समेत बढाएर ९ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेको छ। यद्यपि राष्ट्रिय वाणिज्य बैंकले कात्तिकमा भने सबैभन्दा कम अर्थात् ६ प्रतिशत मात्रै दिएको छ। तर, समग्रमा बैंकहरूको व्यक्तिगत वार्षिक मुद्दती निक्षेपको औसत ब्याजदर ९.१८ प्रतिशत रहेको छ। गत असोजमा औसत ८.४२ प्रतिशत थियो। तर, यसैबीच सानिमा बैंकले भने १ प्रतिशत बिन्दुले घटाएर ८.०१ प्रतिशत ब्याजदरमा सीमित राखेको छ। यसबाहेक आठ बैंकले भने यसअघिकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत प्राइम, सन्राइज, नबिल, नेपाल इन्भेस्टमेन्ट, प्रभु, ग्लोबल आईएमई, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
यता बैंकरहरू लगानीयोग्य पुँजी (तरलता) अभाव भएकाले स्रोतको जोहो गर्न महिनैपिच्छे ब्याजदर बढाएको बताउँछन्। साधारण बचतमा समेत उच्च ब्याजदर दिएको दाबी गर्दै एनआईसी एसिया बैंकका जनसम्पर्क प्रमुख तथा सूचना अधिकारी अर्जुनराज खनियाँ तरलता अभावका कारण निक्षेपको ब्याजदर बढाउन बाध्य भएको बताउँछन्।
उनका अनुसार समग्र बैंकिङ प्रणालीमा कर्जाको वृद्धि बढेअनुसार निक्षेप वृद्धि नबढेकाले ठूलो अन्तर छ। ‘हामीले साधारण बचतमै ८.१ प्र्रतिशत दिएका छौं। यो अरूभन्दा उच्च हो। बैंकले एडिसनल कस्ट दिनुभन्दा आम ग्राहकलाई राम्रो ब्याज दिनु नै उचित ठानेर आकर्षक ब्याजदर निर्धारण गरेको हो,’ उनले भने।
बैंकरहरू तरलताको चरम अभाव भएको भने पनि नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भने अहिले बजारमा ४४ अर्ब अधिक तरलता कायमै रहेको दाबी गर्छन्। यस्तो तरलता हुँदा संकट भन्न नमिल्ने उनको भनाइ छ। यद्यपि बैंकहरूले छोटो अवधिको निक्षेप संकलन गरेर दीर्घकालीन कर्जा दिएकाले लगानीयोग्य पुँजी कम हुन गएको पोखरेल औंल्याउँछन्। ‘बैंकहरूले तरलता तथा सम्पत्ति व्यवस्थापनमा सजग रहनुपर्ने देखिन्छ। उनीहरूले सर्टटर्म स्रोतलाई दीर्घकालीनमा लगानी गरेकाले तरलता मिसम्याच भएको छ। यसले गर्दा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कसिलो हुने जस्ता समस्या देखा परेको हो,’ उनले भने ‘तरलता कम भएका कारणले ब्याजदर बढेको होइन। अहिले पनि अधिक तरलता बैंकिङ प्रणालीमा ४४ अर्ब रुपैयाँ छ। यद्यपि बैंकहरूको सीडी रेसियो कसिलो भएको अवस्था हो। यसले गर्दा लगानीमा असहज हुन्छ।’
एनआईसी एसिया बैंकका सूचना अधिकारी खनियाँ अहिले अधिकांश बैंकले छोटो अवधिको निक्षेप लिएर दीर्घकालीन लगानी गरेकाले भोलिका दिनमा तानातान हुन सक्ने अनुमान गरेर अहिलेदेखि ब्याजदर बढाएको स्विकार्छन्।
यद्यपि राष्ट्र बैंकले तरलता सहज गर्न चालू आर्थिक वर्षको तीन महिनामा पटकपटक गरी ९ खर्ब ७ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ बजारमा पठाएको छ। यो मौद्रिक उपकरण र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत हो। उसले एकहप्तेदेखि दुईहप्ते अवधिसम्मका उपकरण १८ पटकसम्म जारी गर्यो।
यसबाट बजारमा २ खर्ब ३२ अर्ब ६५ करोड ३२ लाख गएको छ। एसएलएफमार्फत ४४ पटकमा ६ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ पठाएको सहप्रवक्ता पोखरेल तर्क गर्छन्। ‘बैंकहरूले अहिले निक्षेपमा मात्रै जोड दिएकाले अब ऋणपत्र (डिबेन्चर) निस्कासन, वैदेशिक सापटी र केन्द्रीय बैंकले प्रदान गरेको पुनर्कर्जा सुविधालाई उपभोग गर्न जरुरी छ। दीर्घकालीन स्रोतको जोहो गरे पटकपटक तरलता अभाव हुन पाउँदैन,’ उनले अन्नपूर्णसँग भने।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा मात्रै होइन साधारण बचत र संस्थागत मुद्दती निक्षेपको ब्याजदरसमेत बढाएका छन्। संस्थागत निक्षेपमै दोहोरो अंकसम्मको ब्याजदर दिने घोषणा गरेका छन्। यसमा सिद्धार्थ, एनआईसी एसिया, लक्ष्मी, नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकले १०–११ प्रतिशतको हाराहारीमा ब्याजदर दिने घोषणा गरेका छन्।
दसैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगदलाई पुनः ल्याउन पनि आकर्षक ब्याजदरको रणनीति लिएका हुन्। यो रणनीतिले तरलता सहज हुने अपेक्षा गरेका छन्। निक्षेपको ब्याजदर बढेपछि अब नयाँ कर्जाको ब्याजदर पनि सोही अनुपातमा बढ्नेछ। तर, पुराना ऋणीको ब्याजदर भने परिवर्तन हुँदैन। यस्ता ऋणीको भने बैंकले प्रत्येक त्रैमासको वित्तीय प्रतिवेदनअनुसार निर्धारण गरेको आधारदरमा रहेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। अन्नपुर्ण पोष्टबाट