बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने

तामसालिङ खबर
२४ आश्विन २०७८, आईतवार १६:४८

असोज, हेटौंडा – बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसले गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकले सरकार गठनका लागि गठबन्धन दलसंग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने निर्णय समेत गरेको  छ ।

बैठकमा नेपाली कांग्रेसले प्रदेश संसदमा अहिलेसम्म निर्वाह गरेको भुमिका राजनैतिक संस्कारयुक्त रहेको र जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए । संसदीय प्रक्रियालाई चुस्त बनाई सभामुख सानुकुमार श्रेष्ठले मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावलाई टुंगोमा पुर्याउनुपर्नेमा सांसदहरुले जोड दिएका थिए ।

बैठकले कोरोना संक्रमण भई उपचाररत नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बिजया दशमीको अवसरमा सम्पूर्ण प्रदेश, देश र विदेश रहेका नेपालीमा शुभकामना दिंदै बैठकले कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत हालसम्म अधिवेशन सम्पन्न भएर विभिन्न पदमा निर्वाचित पदाधिकारी, सदस्य एवं क्षेत्रीय प्रतिनिधिलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको संसदीय दलका सचिव निमा लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*