२ हजार क्विन्टल चामल विक्री वितरणमा रोक

पत्रपत्रिकाबाट
८ आश्विन २०७८, शुक्रबार ०७:४५

असोज, काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा राखिएको करीब २ हजार क्विन्टल चामल विक्री वितरणमा रोक लगाइएको छ ।

कम्पनीको गोदाममा राखिएको १ हजार ९७५ क्विन्टल बासमती चामल बेच्न रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले असोज ६ गते कम्पनीको वीरेन्द्रनगर-६ सुर्खेतमामा रहेको प्रादेशिक गोदाममा अनुगमन गरी उक्त परिमाणको चामल विक्रीमा रोक लगाएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेचबिखनमा रोक लगाई नष्ट गर्न सुझाव दिएको चामल कर्णालीमा पठाइएको समाचार सार्वजनिक भएपछि अनुगमन गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख थापाले बताए । चामलको गुणस्तरबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्राचार गरेको जानकारी उनले दिए ।

साउन १५ यता कम्पनीमा करीब २ हजार क्विन्टल चामल मात्रै आएको कम्पनीका लेखा सहायक विनोद पौडेलले बताए । आफूहरूले समेत उक्त चामल नियमित उपभोग गरिरहेको उनको भनाइ छ । उनका अनुसार कौशल एग्रो राइस मिल, लहानले २०७७ कात्तिक १६ मा उक्त चामल प्याकेजिङ गरेको हो । अभियान दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*