एकीकृत समाजवादीको कार्यविभाजन, केन्द्रीय उपाध्यक्षमा मकवानपुरका केदार न्यौपाने
असोज, काठमाण्डौ – माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक बिहिबार बसेको छ ।
बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । जम्मा ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको खतिवडाले बताए ।
पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने रहेका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ शाह, जयन्ती राई रहेका छन् ।
त्यस्तै महासचिव डा. बेदुराम भुसाल बनेका छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा. विजय पौडेल रहेका छन् ।
चार सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री रहेका छन् ।
सबै प्रदेश तथा जिल्ला इञ्चार्जसमेत तोक्नुका साथै केन्द्रीय कमिटीबाहेक सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ । बैठकले ‘तत्कालीन कार्ययोजना’ २०७८ पारित गरेको छ । तीन महिनाभित्र सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ ।
बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाइ छलफल भएको थियो । बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल भएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले बताइन् ।
नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो ।