जसपा संविधान दिवसको कार्यक्रममा सहभागी नहुने

तामसालिङ खबर
२ आश्विन २०७८, शनिबार १७:११

असोज, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने जनाएको छ । शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्तिमार्फत् संविधानमा राखिएका अधुरा र विभेदकारी प्रावधानले मधेसी, आदिवासी, जनजातिलगायतको मुद्धा सम्बोधन नगरेको भन्दै संविधान दिवस कार्यक्रममा सहभागी नहुने भनिएको छ ।

भोलि असोज ३ गते आइतबार संविधान दिवस मनाइदैछ । तर, जसपासले भने सबै वर्गलाई नसमेटेको भन्दै संविधान दिवस नमनाउने घोषणा गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने ।’

विभेदकारी संविधानका त्रुटिको विरोध गर्न पनि अध्यक्ष यादवले सबैलाई आह्वान गरेका छन् । ‘संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा संविधान संशोधनको आवश्यकता विषयक अन्तर्क्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न आम जनसमुदाय एवं पार्टीको संगठनहरुलाई आह्वान गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

जबसम्म संविधानले सबै वर्ग र समुदायलाई समेट्दैन तबसम्म संविधान दिवस नमनाउने र मनाउनुको कुनै अर्थ नरहने पनि अध्यक्ष यादवको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*