जाजरकोटमा फैलियो दादुरा

तामसालिङ खबर
३१ भाद्र २०७८, बिहीबार १७:०५

भदौं, जाजरकोट – दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ ।

यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए/नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताउनुभयो ।

जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उहाँले बताउनुभयो । दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझने क्रम सुरु गरिएको उहाँले बताउनुभयो ।

हप्ता दिनअघि मात्र रावतगाउँका दुई बालबालिकाको नमूना सङ्कलन गरी नेपालगञ्ज पठाइएकामा सो नमूनामा दादुरा भएको पुष्टि भएको थियो ।

त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो, तर यो रोगको सङ्कमणदर बढ्न थालेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*