मकवानपुरमा विप्लवका दुई रातको बसाई

तामसालिङ खबर
१८ भाद्र २०७८, शुक्रबार १४:४६

भदौं, हेटौडा – पार्टीमाथिको प्रतिवन्ध फुकुवा भएसँगै राजनीतिक भेटघाट र संगठन विस्तारमा सक्रिय रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मकवानपुरमा दुई रात बिताउनु भएको छ । विकट गाउँमा बिताउनुभएका विप्लव त्यहाँबाट भने सोझै काठमाडौँतर्फ लाग्नुभएको बताइएको छ ।

पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्न विप्लव भदौ १५ गते मकवानपुरको मनहरी गाउँपालिका-३ पुग्नु भएको हो । दुई रात जनताकै घरमा सामान्य जीवनशैलीमा बिताएर उहाँ भदौ १७ गते काठमाडौँ फर्कनु भएको विप्लवनिकट स्रोतले बताएको छ ।

स्रोतका अनुसार महिला संघको बैठकका लागि देशभरबाट झण्डै एक सय पाहुना सहभागी भएका थिए । उनीहरु सम्पूर्णलाई स्थानीय जनताको घरमा आवासको व्यवस्था मिलाएर जनताकै घरमा बैठक चलाइएको थियो । क्रान्तिकारीको केन्द्रीय कमिटी जम्मा ३७ जनाको रहेको बताइन्छ ।

विप्लवले बैठकका अतिरिक्त कार्यकर्ता भेटघाटलाई निरन्तरता दिनु भएको थियो । भेटघाटका क्रममा उहाँले दुई वटा कुरालाई आफ्नो बटमलाइन बनाउनुभएको बताइन्छ । त्यहाँ सहभागी एक कार्यकर्ताका अनुसार ओली सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिको अक्षरश: कार्यान्वयन र वैज्ञानिक समाजवादको एजेण्डालाई जनतामाझ लैजानका लागि जनमत संग्रह नै अहिलेको बटमलाइन भएको विप्लवले बताउनु भएको थियो ।

‘कुनै बिशिष्ट व्यक्तिहरुसँग होइन, सामान्य जनताहरुसँग र कार्यकर्ताहरुको साक्षात्कार उहाँले गर्नुभयो’, ती कार्यकर्ताले भने, ‘जनतासँगै खाने,जनतासँगै सुत्ने र रहने कुरालाई उहाँले मकवानपुरमा पूरापूर उपयोग गर्नुभयो ।’

महासचिव विप्लव मकवानपुरमा आएको र राष्ट्रियस्तरको कार्यक्रम भएको कुरा मूलधारका मिडियामा भने आएको छैन । गुपचुप नै राखिएको छ । यद्यपि, प्रहरीसँगको समन्वयमै गाउँमा कार्यक्रम भएको बताइएको छ ।

सरकारद्वारा प्रतिबन्ध लगाइएपछि भूमिगत राजनीतिक जीवन अघि बढाइरहनु भएका विप्लव तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरी खुला राजनीतिमा आउनु भएको हो । खुला राजनीतिमा आएपछि सबै राजनीतिक दलका प्रमुखहरुसँग भेटघाट गरी सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि इमान्दारिता देखाउन आग्रह गर्दै आउनुभएको छ। जनआस्थाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*