कोरोना संक्रमितको संख्या घटे संगै मकवानपुरका सबै आइसोलेसन बन्द

तामसालिङ खबर
१७ भाद्र २०७८, बिहीबार ०८:३१

भदौं, हेटौडा – कोरोना संक्रमण घटे सँगै मकवानपुरमा स्थापना गरिएका सबै आइसोलेसन सेन्टरहरू बन्द गरिएको छ । दैनिक रूपमा थपिने संक्रमितको संख्या घटे सँगै आइसोलेसन सेन्टरहरू बन्द गरिएको हो ।

कोरोनाको दोस्रो लहर सँगै हेटौंडा उपमहानगरपालिका-६ गौरीटार रंगशालामा १ सय २० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो ।संक्रमितलाई आवश्यक औषधि र खाद्यान्नको समेत व्यवस्था उपमहानगरले गर्दै आइरहेको थियो । तर लामो समयसम्म आइसोलेसन संक्रमितविहीन बनेपछि बन्द गराइएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले भने ।

जिल्लामा संक्रमितको चाप बढे सँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले २ निजी अस्पताललाई पनि आइसोलेसन सञ्चालन गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार हेटौंडाको चुरेहिल अस्पतालमा १० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो । उक्त आइसोलेसन पनि बन्द गरिएको छ ।

मनहरी गाउँपालिकाको २५ बेडको आइसोलेसन सेन्टर पनि अहिले बन्द छ । जिल्लाका १० वटै स्थानीय तहले स्थापना गरेका आइसोलेसन पनि पूर्ण रूपमा बन्द भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति होम आइसोलेसनमै बस्न रुचाएका कारण पनि संस्थागत आइसोलेसन बन्द भएका चौलागाईंको भनाइ छ । पछिल्लो समय दैनिक ३०–४० जनासम्म संक्रमित थपिइरहेको र सबैजसो घरमै बस्दै आएका उनले बताए । ‘तर अधिकांश संक्रमितहरू परिवारमा घुलमिल भएको पाइयो ।

संक्रमितहरू परिवारका अन्य सदस्य सँगै खाने, बस्ने तथा घरबाहिर पनि निर्धक्क हिँडिरहेका छन्,’ उनले भने । भदौ १४ सम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*