ओलीले ज्ञानेन्द्रकै शैलीमा देश चलाउन खोजे : अध्यक्ष यादव

तामसालिङ खबर
१४ भाद्र २०७८, सोमबार ०५:५९

भदौं, पर्सा – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रकै शैलीमा देश चलाउन खोजेको आरोप लगाउनुभएकाे छ ।

जसपले शनिबार वीरगञ्जमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्रलाई समाप्त पर्ने प्रयास गरेको बताउनुभयो । विश्व इतिहासमै पहिलो पटक बहुमतको सरकारले दुई पटक संसद विघटन गरेको अध्यक्ष यादवको भनाइ थियो ।

उहाँले जसपाबाट फुटेर गएका महन्थ ठाकुर समूह प्रतिगमनकारी ओली सरकारमा सहभागी भई त्यसको मतियार बनेको आरोप पनि लगाउनुभयो । प्रतिगमनलाई साथ दिँदा ठकुर समूह दल बिहिनको अवस्थामा पुगेकाे उहाँले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने ओलीको षड्यन्त्रमा साथ दिएको ठाकुर पक्षलाई अध्यादेशले उद्धार गरेको अध्यक्ष यादवकाे भनाइ थियाे ।

ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा दुई चार जना अवसरवादीहरू मात्रै गएको अध्यक्ष यादवले बताउनुभयाे । पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)का ८० प्रतिशल आफ्नै पार्टी बसेको दावी गर्नुहुँदै जसपा अझ बलियो भएको बताउनुभयो ।

यसैगरी जसपाका वरिष्ठ नेता अशोक राईले पार्टीलाई शसक्त बनाउन नयाँ उत्साहका साथ संगठन निर्माणमा लाग्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

जसपा पूर्वमन्त्री रेणु यादवले ठाकुर पक्षलाई नटवरलालको संज्ञा दिँदै मधेसी जनताको भवना कुल्चिएर पदको लोभमा ओलीको सरकारमा सहभागी भएको आरोप लगाउनुभयो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई बलियो बनाई मुलुकको वैकल्पीक शक्तिको रुपमा स्थापित गर्ने उदेश्यले जसपाले सातै प्रदेश अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत शनिबार वीरगञ्जमा जसपाले अभिमुखिकरण कार्यक्रम गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता महेन्द्र राय यादव, रामसहाय यादव, प्रदिप यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बारा, पर्सा, रौतहटका नेता तथा कार्यकर्ता सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण जसपा पर्साका अध्यक्ष रामनरेश यादवले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*