नेपालको एकीकृत समाजवादी दल सरकारमा सहभागी हुने
भदौं, काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो पार्टी सरकारमा जाने बताउनुभएको छ ।
नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले आफूहरू हिजो पनि गठबन्धनमा सहभागी रहेका कारण सत्तारूढ गठबन्धनलाई बलियो बनाउन सरकारमा जाने बताउनुभएको हो ।
विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको बताउँदै उहाँले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको दाबी गर्नुभयो । ओलीबाट पीडित भएकाहरु नयाँ पार्टीमा आउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो ।
नेपालले एमाले अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै पार्टीभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन र कम्युनिस्ट आन्दोलन जोगाउन, लोकतन्त्र राष्ट्रिय स्वाधीनता र सुशासनको मान्यता लागू गर्न नयाँ पार्टी गठन गरेको बताउनुभयो ।
ओली अग्रगमनका बाधक र प्रतिगमनका बाहक रहेको निष्कर्षपछि आफूले कांग्रेस, माओवादी, जसपासँग छलफल गरेर नयाँ मोर्चा बनाएर ओलीलाई फाल्न सफल भएको पनि नेपालले बताउनुभयो ।
ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहन सक्ने अवस्था नरहेको बताउँदै उहाँले आफूलाई छाडेर जानेहरुले त्यस बेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गर्नुभयो । पार्टी दर्ता गर्न ढिलाइ भएको कारण खुलाउँदै उहाँले भन्नुभयो– ‘हाम्रो साथ छाडेका साथीहरुले त्यस बेला नै नयाँ पार्टी दर्ता गरिसकेका थिए । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ ।
हामीले उति बेलै पार्टी खोल्न सक्थ्यौं । हामीले जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो, संघीय संसद्को हकमा सोच्नुपर्दथ्यो, त्यही कारणले नयाँ पार्टी दर्ता गर्न समय लाग्यो ।’ न्युजअफनेपालबाट