कांग्रेस महाधिवेशनमा क्रियाशीलकै अड्को

पत्रपत्रिकाबाट
७ भाद्र २०७८, सोमबार ०७:०६

भदौं, काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ ।

कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन १८ भदौमा सुरु भइसक्नुपर्छ । यो दिन आउन अब ११ दिन छ । तर, अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुने नहुने निश्चित छैन ।

क्रियाशील सदस्यताको विषयमा देखिएको विवादको समाधानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका शीर्ष नेता निरन्तर जसो छलफलसमेत गर्दै आइरहेका छन् । हाल विवाद समाधानको जिम्मा नेता कृष्णप्रसाद सिटौलासहित नेताहरू रमेश लेखक र डा. मीनेन्द्र रिजाललाई दिइएको छ ।

कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको प्रतिवेदन विवादलाई यथावत् राखेर पदाधिकारीसहित शीर्ष नेतृत्वलाई बुझाएको थियो । नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको थियो । सो समय नाघिसकेको छ । सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख गरेको थियो ।

प्रतिवेदनअनुसार बारा र सप्तरीका नयाँ सदस्यतामा जिल्लाभर विवाद छ । यस्तै, धनुषा ४, सर्लाही २ र रसुवा र सिन्धुपाल्चोकका केही नयाँ सदस्यतामाथि पनि विवाद छ । यस्तै अन्य दलबाट आएर सदस्यता दिएकाहरूका विषयमा पनि यी जिल्लामा विवाद कायम छन् । यसैगरी, अन्य पार्टीबाट समायोजन भएर आएकाहरूका विषयमा समेत सदस्यतामा विवाद छ ।

सदस्यताका विषयमा विवाद समाधान नहुँदा महाधिवेशन होला कि नहोला भन्नेमा अझै पनि आशंका उब्जँदै आइरहेको छ । कांग्रेस नेता रामकृष्ण यादव अब पनि सदस्यताको विवाद समाधान नभए महाधिवेशन गाह्रो हुने बताउँछन् ।

‘सदस्यताको विवाद देखाएर महाधिवेशन सारिएको छ, फेरि पनि विवाद समाधान उन्मुख भइरहेको देखिँदैन । यस्तै हो भने तोकिएको मितिमा महाधिवेशन गाह्रो छ,’ यादवले भने ।

उनले महाधिवेशन गर्ने नै हो भने अब विवाद देखिएका स्थानमा नयाँ क्रियाशील सदस्यतालाई थाँती राखेरै भए पनि नेतृत्व अघि बढ्नुपर्ने बताए । यो मतमा कांग्रेसभित्रको पौडेल समूहमा बलियो छ । यो समूहले विवाद भएका सदस्यताका हकमा १५ औं महाधिवेशनमा मताधिकार दिनेगरी निर्णयमा पुग्न सकिने बताउँदै आइरहेको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका सभापति देउवानिकट नेता लेखक भने अब क्रियाशील सदस्यताका विषयको विवाद लगभग टुंगिएको बताउँछन् ।

‘विवाद समाधान उन्मुख छ, छिट्टै सभापतिलाई सदस्यताको फाइनल लिस्ट बुझाउँदै छौं,’ नेता लेखकले भने । कांग्रेसले नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म गर्ने निणर्य गरिसकेको छ ।

यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*