प्रदेश १ मा शेरधन राई सरकार संकटमा

तामसालिङ खबर
४ भाद्र २०७८, शुक्रबार ०७:१६

भदौ, विराटनगर – नेकपा (एमाले) बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सांसद संख्याका आधारमा बहुमत पु¥याउन सक्ने सम्भावना छैन । प्रदेश सरकार ढल्ने निश्चित बने सँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ ।

स्रोतका अनुसार लामो समयसम्मको पार्टी विवादसँगै नेपालले दर्ता गरेको नयाँ दल नेकपा (एमाले समाजवादी)को पक्षमा एमालेका १५ सांसद देखिएका छन् । उनीहरूले नयाँ दल रोज्दा प्रदेश सरकार ढल्ने निश्चित बनेको बताइएको छ । यसअघि १९ जना सांसद नेपालको पक्षमा रहेको दाबी गरिएको थियो ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले अहिले नै सरकार परिवर्तनको अनावश्यक हल्ला चलाइएको बताए । ‘नयाँ दल दर्ता भएपछि २१ दिनसम्म सांसदले पार्टी रोज्न पाउँछन्,’ उनले भने, ‘त्यतिबेला मात्रै अहिलेको सरकार रहने वा नरहने भन्ने यकिन हुन्छ ।’

त्यस्तै, पार्टी नै विभाजन भइसकेपछि प्रदेश सरकार अब नरहने एमाले समाजवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र राईले बताए। उनले भने, ‘केही समय लागे पनि अहिलेको सरकार ढालेर नयाँ गठबन्धन सरकार बनाउँछौँ।’ प्रदेश १ मा नेपालले नेतृत्व गरेको एमाले समाजवादीले नै सरकारको नेतृत्व गर्न पाउने सम्भावना छ।

त्यसो हुँदा राजेन्द्र राई नै मुख्यमन्त्री बन्ने लगभग निश्चित छ। यसअघि नेपाललाई साथ दिँदै आएका भीम आचार्य मुख्यमन्त्रीका दाबेदार थिए। उनले नेपालको साथ छोडेपछि नयाँ गठबन्धन सरकारको नेतृत्वका लागि राई दाबेदार बनेका हुन्। ओली पक्षले विभाजनको पक्षमा उभिएका आचार्यलाई नै अब मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने सम्भावना रहे पनि उनैले नमानिरहेको स्रोतले बतायो। – अन्नपुर्ण पोष्टबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*