को हुन्, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ?

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार २१:३८

भदौ, हेटौडा – बगमती प्रदेशमा बुधबार मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।

६८ वर्षीया अष्टलक्ष्मी शाक्य २०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मेकी हुन् । दशैंको अष्‍टमीको दिन जन्मेकाले उनको नाम अष्टलक्ष्मी राखिएको उनी आफैंले बताउने गरेकी छन् ।

२०२९ सालमा एसएलसी पास गरेकी अष्टलक्ष्मी २०३६ सालमा घर छोडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परिन् र पछि अखिल नेपाल महिला संघको अध्यक्ष समेत भइन् । शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ मध्येमा पर्छिन् ।

शाक्य २०५६ साल र २०७१ सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन् । यसअघि दुईपटक मन्त्री भइसकेकी शाक्य गत २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन् ।

उक्त निर्वाचन लगत्तै मुख्यमन्त्रीमा दावी गरेकी शाक्यलाई त्यसबेला एमालेको भागवण्डा नमिल्दा डोरमणि पौडेल मुख्यमन्त्री बनेपछि उनी प्रदेशसभा सदस्यमा सिमित बनेकी थिइन् ।

पञ्चायतकालमा झण्डै ११ वर्षसम्म भूमिगत जीवन बिताएकी शाक्यले २०३७ सालमा पार्टीकै नेता अमृतकुमार बोहोरासँग विवाह गरेकी थिइन । बोहरा एमालेका स्थायी समिति सदस्य तथा एमाले अनुशासन आयोगका अध्यक्ष समेत हुन् । उनी माधव नेपाल समुहका भनेर चिनिएपनि बुधबार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एमाले समाजवादीमा सहभागी छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*