माधब पक्षीय एमाले मनहरीको अध्यक्षमा नारायण श्रेष्ठ चयन, नौ ओटै वडा संयोजक र सह-संयोजक तोकियो

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार २०:२६

भदौ, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी एमाले मनहरी गाउँपालिका कमिटिको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएको छ । मंगलबार लामिटारस्थित सामुदायिक भवनमा आयोजित भेलाबाट श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो ।

गाउँ कमिटीको उपाध्यक्षमा आशा बल र सचिवमा ओम आलेमगर चयन भएको छ । ९१ सदस्यीय कमिटी चयन भए सँगै ९ वटै वडाका संयोजक र सह संयोजक समेत तोकिएको नव गठित कमिटीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई बिभाजन गर्ने गरी अदालतले आदेश दिएपछि जेठ ३ अघिको अबस्था कुल्चँदै मनहरीमा केही व्यक्तिहरुको भेलाले नेकपा एमाले गठन गरेको घोषणा गरेको थियो । तर, अधिकाँश एमालेका संगठित सदस्य तथा शुभचिन्तकहरुलाई थाहा नदिई एकलौटी रुपमा केपी ओली पक्षधरले गरेको पार्टी गठनलाई मान्यता नदिई नयाँ कमिटी गठन गरिएको हो ।

कमिटी पुननिर्माण तथा पार्टी एकता सम्बन्धी अन्तरक्रिया भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केदार न्यौपानेले केपी ओलीको अराजक गतिविधि र तानाशाही प्रबृत्तिले सीमा नाघेको भन्दै पुन बामपन्थी एकता र कम्युनिष्ट आन्दोलनको पुनर्गठन बाध्यता रहेको बताउनुभयो ।

एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले केपी ओलीले संविधान, पार्टीको विधान, बिधि र पद्धति मिचेर नांगै हिँड्दा समेत लाज नभएको तर आफूहरुलाई त्यस्तो हर्कतले लज्जाबोध भएको बताउनुभयो । संविधान जोगाउनका लागि एमालेका माधव नेपालसहितका सांसदहरुले गरेको योगदानलाई नेपाली जनताले सदैव सम्झिने उहाँको भनाई थियो ।

भेलामा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ्ग र राजाराम स्याङ्गतान, जिल्ला सचिवाल सदस्य श्रीधर पोखरेल, कृष्णबहादुर चेपाङ्ग, जिल्ला सदस्यहरु बालमुकुन्द ढकाल, मनिला बिष्ट, सगुन स्याङ्तान, युवा संघ जिल्ला अध्यक्ष किरणमान बल, अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य गोविन्द बर्ताैला, निजामति कर्मचारी संगठन केन्द्रीय सचिवालय सदस्य मधु मिजार, अनेम संघ गाउँ कमिटी अध्यक्ष देवकी ढुंगाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै, कार्यक्रममा कृष्णचन्द्र पुरीको अध्यक्षतामा युवा संघ नेपाल मनहरी गाउँ कमिटी गठन भएको छ । मनहरी गाउँपालिका ९ वटै वडामा संयोजक र सह संयोजक तोकेको छ भने अब सबै वडामा तत्कालै वडा कमिटीहरु निर्माण गर्ने र जनबर्गीय संगठनहरु पूर्ण रुपमा पुनर्गठन गरी सक्रियता देखाउने समेत निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*