वीरगञ्ज भन्सारको गोदाममा १ हजार जना अटाउने होल्डिङ सेन्टर

तामसालिङ खबर
२२ श्रावण २०७८, शुक्रबार १७:२२

साउन, वीरगञ्ज (पर्सा) – नेपाल–भारत मुल प्रवेशद्वार वीरगञ्ज भन्सार नाकामा १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य शुरु भएको छ । कोरोना संक्रमणको सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै २८ करोडको लागतमा क्वारेन्टाइन सेवा प्रवाह गर्ने उद्देश्यले वीरगञ्ज भन्सार क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्य शुरु गरिएको हो ।

नेपाल सरकारले नेपाली सेनाको निगरानीमा वीरगञ्ज भन्सार कार्यलयको गोदाममा करिब १ हजार व्यक्ति अटाउन सक्ने क्षमताको उक्त होल्डिङ सेन्टर निर्माण कार्य शुरु भएको हो ।

कोरोना संक्रमण रोकथान तथा नियन्त्रणका लागि भारतबाट वीरगञ्ज नाका हुँदै भित्रिने नेपाली नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराउने सरकारको योजना अनुरुप होल्डिङ सेन्टर निर्माण कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

उनका अनुसार गत असार २३ गतेबाट सुरु गरिएको उक्त होल्डिङ सेन्टरको निर्माण तीब्र गतिमा भइरहेको छ र हालसम्म १८ प्रतिशत काम पनि भइसकेको बताइएको छ । वीरगञ्ज श्रीपुरस्थित रहेको श्री चण्डी प्रसाद गणको नेपाली सेनाको व्यस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको उक्त होल्डिङ्ग सेन्टरको ठेक्का हनुमान कन्सट्रक्सन ललितपुरले लिएको छ ।

क्वारेन्टाइनमा बस्नका लागि ५० जना अट्ने गरि २० वटा हल, एक प्रशासनिक भवन, एक सेन्ट्रल किचेन गरि कुल २२ भवनको निर्माण भइरहेको छ भने सुविधायुक्त शौचालय पनि निर्माण भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*