गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिन्छौं – ऊर्जामन्त्री भुसाल
साउन, काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छन्।
बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन्।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनको भनाइ छ। ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहीँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु।
करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ। घरेलु उपभोग बढाउनका निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु’, मन्त्री भुसालले भनिन्।