प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदसँग एमालेले सोध्यो स्पष्टीकरण

तामसालिङ खबर
५ श्रावण २०७८, मंगलवार ०७:१२

साउन, काठमाडौँ – पार्टी निर्णय अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने भएको छ । केन्द्रीय कमिटीको सोमबारको दसौं बैठकले स्पष्टीकरण सोध्ने निर्णय लिएको हो ।

‘फ्लोर क्रस गर्ने सांसदले २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्छ, उहाँहरूले दिएको स्पष्टीकरणका आधारमा पार्टीले कारबाही गर्छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘१० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देऊ, पार्टीको निर्णय उल्लंघन गर भन्दैन ।’

देउवालाई विश्वासको मत दिनेमा नेता माधव नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, नीरादेवी जैरु, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए । त्यसैगरी ओली पक्षबाट गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार ९किसन० श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसीले देउवालाई मत दिएका थिए । देउवालाई मत दिने नेताहरूमाथि कारबाहीको प्रस्तावको विषयलाई लिएर बैठकमा विवाद भएको थियो ।

ओलीले स्पष्टीकरण सोध्ने प्रस्ताव अगाडि सार्दा केन्द्रीय सदस्यहरू महेश बस्नेत, खिमलाल भट्टराई, कर्ण थापा, रामेश्वर फुँयाललगायतले त्यो प्रक्रियामा नगई तत्कालै कारबाही गर्नुपर्ने सुझाव दिएका थिए । तर, बैठकले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*