प्रधानमन्त्री देउवालाई समर्थन भएपनि जसपा तत्काल सरकारमा सहभागी नहुने

पत्रपत्रिकाबाट
३० असार २०७८, बुधबार ०८:०६

असार, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोही गठबन्धनमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादव समूह पनि सरकारमा सहभागी हुने बताइएको थियो ।

‘शेरबहादुरजीलाई हाम्रो समर्थन छ, हामी सरकारमा पनि जान्छौं तर अहिलेकै अवस्थामा जान सक्दैनौं,’ यादवले भने, ‘सरकारले कस्तो कार्यक्रम तय गर्छ, त्यसलाई पहिला हामी हेर्छौं । आफूहरूको मुद्दा सरकारले कसरी सम्बोधन गर्छ यी सबै विषयमा छलफल गरेर मात्र सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’

जसपा कार्यकारिणी समितिको बैठकले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्चः ट्र्याकमा फिर्ता गरेको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । यो खबर आजको राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*