हाम्रो पात्रोमा अब रेडियोहरु एचडीमा सुन्न सकिने

तामसालिङ खबर
२९ असार २०७८, मंगलवार ०१:२०

असार, काठमाडौँ – नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो ।

यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा समेत सुन्न सकिनेछ । हाल ईमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् ।

बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रूपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् ।

‘अबको केही दिनमा ५० वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भ‍निन्, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश-विदेश जतासुकैबाट नेपाली रेडियो सुन्न सकिन्छ ।

परम्परागत प्रविधि अर्थात एफएम रेडियो सेटमार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ । जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो ।

न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्या समेत बढ्दै गएको छ ।

हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यस वापत रेडियो स्टेसनले हाम्रोपात्रोलाई कुनै शुल्क समेत तिर्नु पर्दैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*