१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

तामसालिङ खबर
२७ बैशाख २०७८, सोमबार ०९:१९

बैशाख, काठमाडौं – अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो ।

गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ ।सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेकोमा मध्यावधि समीक्षा गरी १३ खर्ब ४४ खर्ब ६८ करोड बनाएको थियो ।

आर्थिक वर्ष २०७६–७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट अनुमान गरिएकोमा यथार्थ रुपमा १० खर्ब ९१ अर्ब मात्र खर्च गर्न सकेको थियो । यति नै आकारको बजेट हुने औपचारिक खाका तयार नभए पनि अर्थ मन्त्रालयले १६ खर्ब ५ अर्ब जतिको बनाउने तयारी थालेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षे मध्यकालीन बजेट अनुमान तथा प्रक्षेपणअनुसार आगामी आवमा १६ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँको बजेट तयार गर्नुपर्नेछ ।

प्रक्षेपणअनुसार चालू खर्च १० खर्ब, पुँजीगत खर्च ४ खर्ब ९२ अर्ब र वित्तीय व्यवस्था २ खर्ब रुपैयाँको हुने अनुमान छ । यद्यपि बजेट महाशाखा आयोगको प्रक्षेपण अनुरुप जान नसक्ने बताउँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*