माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए संगै प्रधानमन्त्री ओली अल्पमतमा

ताम्सालिङ खबर
२२ बैशाख २०७८, बुधबार ०८:०४

बैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्र सहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रले १७ असोज २०७४ मा चुनावी तालमेल गरेका थिए ।

साझा घोषणापत्र सहित आमनिर्वाचनमा होमिएपछि एमालेले प्रतिनिधिसभामा १ सय २१ र माओवादी केन्द्रले ५३ सिट जितेको थियो । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कमजोर बन्दै गएका छन् ।

माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्बाट विश्वास मत लिने तयारी गरिरहेकै बेला माओवादीले समर्थनमा मत नहाल्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर बनेको नेकपासँग १ सय ६९ सांसद थिए । माओवादी केन्द्रसँग ५३ सांसद रहेकोमा चार जना निलम्बनमा परेका छन् ।

एमालेसँग १ सय २१ रहेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग ३५ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ । नेपाल समूहले समेत ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*