घटस्थापना, जनैपुर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय

तामसालिङ खबर
९ चैत्र २०७७, सोमबार ०८:२१

चैत्र, काठमाडौं – सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैंको घटस्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।

आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटस्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ ।

विभिन्न जनजातिले आफूहरुको चाडमा राष्ट्रिय बिदा दिन माग गरेपनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ ।

प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । – नयाँ पत्रिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*