एटीएमबाट झिकियो ४ खर्ब ३ अर्ब
चैत्र, काठमाण्डौ – पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएको छ । विद्युतीय भुक्तानी बढेसँगै नगदरहित कारोबार विस्तारै मौलाउन थालेको छ । तपाईं हामीले बोकर हिँड्ने एटीएमबाट मात्रै ४ खर्ब ३ अर्ब ५९ रुपैयाँ नगद झिकिएको छ ।
चालू आर्थिक वर्ष (२०७७/७८) को सात महिनामा एटीएमबाट सो रकम प्रयोगकर्ताहरुले झिकेका हुन् । माघ महिनामा मात्र ६० अर्ब रुपैयाँ एटीएमबाट कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
एटीएमबाट मात्र होइन यस्तै पोइन्ट अफ सेल (पस) बाट पनि १७ अर्ब ८८ करोड ६० लाख भुक्तानी भएको छ । पीओएस मेसिनमा उपभोक्ताले आफ्नो एटीएम कार्ड स्वाइप गरेर भुक्तानी गर्छन् ।
एटीएम, वालेट, मोबाइल बैङ्किङ, पस, क्यूआरकोड, आरटीजीएस, ईसीसी, आईपीए, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैङ्किङ, ब्रान्चलेस बैङ्किङ र ई–कमर्समार्फत भएको सबै कारोबारलाई हेर्ने हो भने चालू आवमा २९ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ विद्युतीय कारोबार भएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुरूप नेपाल राष्ट्र बैङ्कले अहिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । मोबाइल बैङ्किङमार्फत अहिले दैनिक २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।
यसअघि यो सीमा १ लाख रुपैयाँसम्मको थियो । त्यस्तै इन्टरनेट बैङ्किङमार्फत हुने कारोबारको सीमा दैनिक २० लाख छ । यसअघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो ।
कोरोना महामारीका कारण बैङ्किङ प्रणालीमा विद्युतीय कारोबार बढ्दै गएको र सरकारको नीति पनि सोहीअनुसार भएकाले राष्ट्र बैङ्कले समयअनुसार कारोबार रकमको सीमा परिवर्तन गर्न सक्ने व्यवस्था मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा गरेको छ ।