सत्ता गठबन्धनको विषयले जसपामा चर्काचर्की

तामसालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार ११:४७

फाल्गुन, काठमाण्डौ – भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।

सांसद रेशम चौधरीको रिहाइ लगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि जसपाभित्र अन्तरविरोध बढेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टीका अधिकांश नेताले मंगलबार मात्रै पाएका थिए । ठाकुरले कार्यदल बनाएको जानकारी संसदीय दलको बैठकमा गराएका थिए ।

त्यसपछि बैठकमै नेताहरूबीच केहीछिन चर्काचर्की परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन गर्न ठाकुरले पार्टीमा जानकारी नै नगराई कार्यदल बनाएको बुझाइ यादव पक्षको छ ।

यादव र भट्टराईसहित उनीपक्षीय नेताहरू कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन गर्नुपर्ने पक्षमा छन् । चर्को विरोधपछि ठाकुरले संसदीय दलको बैठकमा सांसद चौधरीको रिहाइका लागि मात्रै कार्यदल गठन भएको दाबी गरेका थिए । तर, अन्तर्यमा यो कार्यदलले सत्ता गठबन्धनको विषयमा समेत छलफल अघि बढाइसकेको स्रोतको दाबी छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*