आदेश नआउँदा विप्लवका नेता माइला लामा छुटेनन्

तामसालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार ०८:४८

फाल्गुन, संखुवासभा – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन् ।सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लवका नेता कार्यकर्ता छुटेका छैनन् ।

विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारगार प्रमुख विनोद अधिकारीले बताए । खाँदबारी कारागारमा विप्लवका केन्द्रीय सदस्य लामा, संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङ सहित १० नेता कार्यकर्ता रहेको कारागार प्रमुख अधिकारीले जानकारी दिए।

चन्द नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको जनाएको थियो। विप्लवका केन्द्रीय नेता लामा २०७६ साउन ५ गते काठमाडाैंबाट पक्राउ परेका थिए ।

विप्लवका नेता लामालाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको थियो। जिल्ला अदालत चैनपुरले संगठित रुपमा हातहतियार ओसारपसार, संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्ष समेत थिए ।

तर, पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए। माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ।

उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन्। उनले संगीत दिएका धेरै गीतमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*