तामाङ चलचित्र ‘तिङ्ला पुजु’ फाल्गुन १५ गते हेटौँडामा प्रिमियर हुने

तामसालिङ खबर
११ फाल्गुन २०७७, मंगलवार ०९:१४

फाल्गुन, हेटौडा – गीत सार्वजनिक भएदेखि नै चर्चाको शिखरमा रहेको तामाङ भाषाको चलचित्र ‘तिङ्ला पुजु’ को विशेष प्रिमियर मकवानपुरको हेटौँडामा हुने भएको छ ।

चलचित्रको यही आउँदो फागुन १५ गते शनिबार बिहान ११ बजे हेटौँडाको ओम्याक्स सिनेमा हलमा विशेष प्रिमियर गर्न लागिएको चलचित्रका नायक जय स्याङ्तानले जानकारी दिएका छन् । चलचित्रको विशेष प्रिमियरका लागि आवश्यक तयारी गरिरहेका कलाकार तथा प्रस्तुतकर्ता कमल रुम्बाले पनि दर्शकहरुलाई विशेष प्रिमियर शोमा सहभागी भएर मदत गरिदिनका लागि आग्रह गरेका छन् ।

चलचित्रको ट्रेलरका साथै ‘सार्सी साम्बा म्हेन्दो आहिन’ र ‘सेम ह्रो’ बोलको गीतहरुलाई दर्शकहरुले सर्वाधिक रुचाएका छन् । गीत सार्वजनिक भएसँगै हिट भएपछि चलचित्र टिमले चलचित्रले पनि दर्शकहरुको मनजित्न सक्ने बताएका छन् । दशैअघि नै प्रिमियर शोको तयारी थालिएता पनि महामारीको कारण चलचित्रको प्रिमिएर रोकिएको थियो ।

चलचित्रमा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् ।

चलचित्रको पब्लिसिटी डिजाईन सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रको कथा पनि रुम्बाले नै लेखेका हुन् ।

चलचित्रका गीतहरुमा शुभ तामाङ, दुखी तामाङ, बबिता पाख्रिन र सिर्जना स्याङ्तानको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतहरु बुद्ध स्याङ्बा र दिपेश प्रधानले एरेञ्ज गरेका छन् । गीतहरु दिप स्टुडियोमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*