नासोको जङ्गलमा लागेको आगो अझै नियन्त्रण बाहिर

तामसालिङ खबर
१७ माघ २०७७, शनिबार १०:२३

माघ, मनाङ – गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका  छन् ।

“जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन”, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भन्नुभयो । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताउनुभयो । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उहाँको भनाइ छ । उहाँले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भन्नुभयो, “पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।”

रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उहाँको भनाइ छ । “घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो”, घलेले आफूहरुका बाध्यता सुनाउनुभयो । “गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ”, उहाँले भन्नु  भयो ।

ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताउनुभयो । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*