मलमासमा भुलेर पनि यी ५ काम नगर्नुहोस्

तामसालिङ खबर
२ आश्विन २०७७, शुक्रबार ०७:२९

असोज, काठमाण्डौ – हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । हिजो अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।

वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउछन् ।

मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । उनले भने“नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उनले  बताए ।

मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ ।

भट्टराईले भने “दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन । ” धार्मिक, सांस्कृतिक अध्येता डा।गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउनुहुन्छ ।

उनका अनुसार विशेष संस्कारका कर्महरु, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन । मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ ।

अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उनको भनाइ छ ।

अधिकमास परेकाे महिनामा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
अधिकमास परेकाे महिनामा मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएकाे छ । शास्त्रीय नियमअनुसार अतिरिक्त समय भएकाले याे समय अन्य समयभन्दा कमजाेर हुनेहुँदा नयाँ थालनी गरिएका कार्यहरु सफलहुने सम्भावना एकदमै न्युन हुन्छ । यस्ताे समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि,शतचण्डी लगाएका कुनै पनि धार्मिककर्महरु त्यस्तै गृहप्रवेश, नयाँ कार्यको थालनी, नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ ।

नव विवाहित दाम्पत्तीहरूका लागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाधिएपछि एक पटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदी नबारेमा पतिलाई शारीरिक,मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्त मार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

एकपटक बारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताईएकाे छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगायतका कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ । अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारण यसलाई पुरुषाेत्तममास भनर पनि भनिएकाे छ ।

पाैराणिक कथाअनुसार सूर्य र चन्द्रमा बिचकाे सन्तुलन मिलाउनका लागि अधिकमासकाे गणना भएकाे हाे । हरेक महिनाकाे मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेकाे महिना या मलमासकाे नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि ऋषि महर्षीहरुकाे आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रह पछि यस अतिरिक्त मलमासकाे मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषाेत्तममास भनेर भनिएकाे हाे । विशेषगरी यस अबधिभर भगवान विष्णुकाे पुजा तथा आरधना गर्ने नियम रहिआएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*