हेटौंडा उपमहानगर र कृषि निर्देशनालयबीच एमओयूमा हस्ताक्षर

तामसालिङ खबर
१४ भाद्र २०७७, आईतवार १८:२१

भदौ, हेटौडा – वागमती प्रदेशमा निर्माण हुने प्रादेशिक तरकारी तथा फलफूल बजार निर्माणका लागि हेटौंडा उपमहानगर पालिका र कृषि विकास निर्देशनालयबीच आइतबार सम्झौतामा हस्ताक्षर गरिएको छ ।

हस्ताक्षर समारोहमा वागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, कृषि मन्त्री दाबा दोर्जे लामा, प्रदेश नीति अयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत र मेयर हरिबहादुर महतको सहभागिता थियो । यसैगरी कार्यक्रममा उममेयर, मिनाकुमारी तामाङ, पदेशका प्रमूख सचिव मानबहादुर बिक, कृषि सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि विकास निर्देशक रविन्द्रबहादुर प्रधान, भूमि आयोगका केन्द्रीय सदस्य केशव दोवकोटालगायत अन्य कर्मचारीको पनि सहभागिता थियो ।

बजारको विस्तृत परियोजना प्रतिवेदन अनुसार बजारको कूल लागत ४१ करोड ६२ लाख ४१ हजार रहेको छ । यसको कूल लागतमध्ये ७० प्रतिशत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बेहोर्ने छ । त्यस्तै लागतको ३० प्रतिशत हिस्सा हेटौंडा उपमहानगरपालिकाले बेहोर्नेछ । बजार नगरको वडा नं ११ स्थित थाना भर्याङमा आयोजना गरिने छ । यसका लागि आवश्यक जमिन उपमहानगरपालिकाले उपलब्ध गराएको छ । यसका लागि कृषि विकास निर्देशनालयले इबिडिङमार्फत ठेक्का लगाउने छ ।

निर्माण सम्पन्न गरेपछि निर्देशनालयले बजार उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । बजार सञ्चालन उपमहानगरले गर्नेछ । बजार निर्माणका लागि ३ वर्षको अवधी तोकिएको छ । कार्यक्रममा सहभागीहरुलाई कृषि सचिव डा. कार्कीले स्वागत गरेका थिए । उनले बजार निर्माणबारे विष्तृत विवरण जानकारी गराएका थिए ।

उनले यो बजार हाल नेपालमा बनेका बजारभन्दा बढी सुवधा सम्पन्न र आधुनिक हुने बताए । बजार परिसरमा थोक बजार, खुद्रा बजार तथा किसान बजारसमेतको व्यवस्था रहेको उनले बताए । यस्तै बजारमा अक्सन सेन्टर, होस्टेल सेमिनार हल, फोहोर व्यवस्थापन क्षेत्र, चमेनागृह, हेल्थ क्लिनिक, विषादी परीक्षण प्रयोगशाला लगायतका सुविधा रहने बताए ।

यो बजार विश्व बैंकको सहयोगमा निर्माण भएका बजारभन्दा पनि आधुनिक हुने बताए । विभिन्न दातृ निकायहरु, विश्व बैंक, एडीबी, इयू, जाइका, आइफाड लगायतले बनाएका बजारको समेत अध्ययन गरी स्थानीय आवश्यकता अनुसारको मोडेल लागू गरिएको पनि उनले बताए । कार्यक्रम मन्त्रालयको योजना तथा अनुगमन महाशाखाप्रमूख डा.शरणकुमार पाण्डेले संचालन गरेका थिए ।

कार्यक्रमलाई हस्ताक्षरकर्ताद्वय रविन्द्रबहादुर प्रधान र हरिबहादुर महतले सम्बोधन गर्दै समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै कार्यक्रमलाई मूख्यमन्त्री डोरमणी पौडेलले पनि सम्बोधन गरेका थिए । बजार अत्याधुनिक बन्ने भएकाले उपमहानगरका लागि सम्पत्ती बन्ने विश्वास व्यक्त गरेका छन् । बजार निर्माणबाट किसानको पहुँच बढ्ने र बिचौलियाको चलखेलमा कमी आउने पनि मूख्यमन्त्रीले विश्वास व्यक्त गरे । निर्माणका लागि आर्थिक अभाव हुन नदिने पनि उनले दृढता व्यक्त गरेका छन् ।

यसैगरी कार्यक्रमलाई समापन गर्दै कृषि मन्त्री दाबादोर्जे लामाले निर्देशक प्रधानलाई तुरुन्तै ठेक्काको सूचना प्रकाशन गर्न निर्देशन दिए । उनले हेटौडा भोलिका लागि मुलककै मूख्य केन्द्र बन्ने आशा व्यक्त गरे । कार्यक्रम लामाको अध्यक्षतामा सम्पन्न गरिएको हो । हलोखबर बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*