लक्षण नभएका संक्रमितलाई अस्पतालमा भर्ना नगरिने – स्वास्थ्य मन्त्रालय

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार ०८:४६

भदौ, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने प्रक्रिया परिवर्तन गरेको छ  । मन्त्रालयले लक्षण नभएका संक्रमितलाई अब भर्ना नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ  ।

लक्षण नभएका संक्रमितले अस्पतालका शैंया भरिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले लक्षण नभएका अस्पतालमा र लक्षण भएका संक्रमित घरमा बस्नुपरेपछि अस्पताल भर्ना प्रक्रियामा परिवर्तन गर्नुपरेको बताए । अब सामान्य अवस्थाका संक्रमितलाई भर्ना नलिन चिकित्सक तथा अस्पताल प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।

काठमाडौं लगायत तराईका जिल्लामा संक्रमित बढ्दै जाँदा अस्पताल शैंया अभाव हुन थालेको छ । यो समस्याको समाधान गर्न मन्त्रालयले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने भएको हो ।

पछिल्लो समय लक्षण सहितका संक्रमित बढ्न थालेका छन् । कुल संक्रमितमध्ये ६ प्रतिशतमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ  । तर, उपत्यकामा भने २० प्रतिशत संक्रमितमा लक्षण देखिएको छ  ।

सोमबार काठमाडौंमा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा दुई सय २४ नयाँ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या तीन हजार चार सय ८६ पुगेको छ ।

काठमाडौंमा दुई हजार सात सय ५६, भक्तपुरमा दुई सय ८६ र ललितपुरमा चार सय ४४ संक्रमित पुगेका छन् । उपत्यकामा पुष्टि भएका संक्रमितमध्ये ६ सय ९७ जनामा लक्षण देखिएको समाचार आजको नयाँ पत्रिकामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*