निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै

तामसालिङ खबर
८ भाद्र २०७७, सोमबार ११:३०

भदौ, जाजरकोट – स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तरगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने गरेको छ ।

हवाई उद्धार कार्यक्रम सञ्चालन भएका ३० जिल्लामा पूर्णरूपमा र चार जिल्लामा आंशिकरूपमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन भएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मार्फत उद्धार गरिएको हो ।

सडक सञ्जालमा नजोडिएका र सहज यातायात पहुँच नभएका ठाउँका गर्भवती महिलाहरूको हेलिकप्टरबाट तत्काल उद्धार र उपचार कार्यक्रम निकै प्रभावकारी भएको हो। सुविधा सम्पन्न र अत्यावश्यक स्वास्थ्य उपकरण नभएका हिमाली जिल्लाका स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने अवस्थाका कर्णालीका गर्भवतीहरूको हवाई मार्गबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत र नेपालगञ्ज लगेर आमा तथा शिशुको ज्यान बचाउने काममा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको हो ।

२०७६ असार ११ गतेसम्म डोल्पामा चार, जाजरकोटमा एक, हुम्लामा दुई र मुगुमा चार गर्भवतीको उद्धार भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जाजरकोटमा ६, डोल्पामा १०, हुम्लामा आठ, मुगुमा चार र कालीकोटमा एक जनाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशैभरिबाट २६ र आर्थिक वर्ष ७६/७७ मा ८७ गरी जम्मा ११३ सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको कोषले जनाएको छ ।

सुत्केरी व्यथाले छटपटाइरहेका महिलालाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पुर्‍याएपछि कर्णालीमा यो कार्यक्रम प्रभावकारी भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनका अनुसार दुर्गम गाउँमा सडक पहुँच नहुनु र भएका सडक पनि हिउँदको महिनामा मात्र सञ्चालन हुने भएकाले पनि व्यथा लागेका गर्भवतीलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याउन हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन ।

जाजरकोट जिल्ला सडक सञ्जालको पहुँचमा भए पनि कच्ची सडक, वर्षाले सडकमा सवारी साधन सञ्चालनमा आउने समस्याले अधिकांश गर्भवतीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन मुस्किल हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*