टोखा नगरपालिकाले स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिइने

रासस
८ भाद्र २०७७, सोमबार ११:१३

भदौ, काठमाडौैं – टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्त्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरको आधारमा १ सय प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराउने नगर प्रवक्ता बस्यालले बताए । यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक, स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए ।

बैठकले ६०औँ बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५ जना स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बिमा कम्पनीमार्फत कोरोना बिमा प्रक्रिया अगाडि बढाउने निर्णय भए पनि ६१औँ बैठकले २० जनासम्मको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

यस्तै टोखा–२ मा रहेको सार्वजनिक जग्गामा आइसोलेसन सेन्टर स्थापनाका लागि स्रोत, साधन, आवश्यकता र औचित्यताका आधारमा अध्ययन गरी प्रतिवेदन पेस गर्न नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नगरप्रमुख अधिकारीले बताए ।

कार्यपालिकाको बैठकले नगरपालिकाअन्तर्गत वडाध्यक्षले बुझिलिएका मोटरसाइकल, स्कुटर वडा कार्यलयको नाममा हस्तान्तरण गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । टोखा–२ चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गर्ने भएको छ ।

नगरपालिकाभित्रका खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिँदै आएकोमा आगामी दिनदेखि ५ बजेदेखि ९१५ बजेसम्म खोल्न दिने बैठकले निर्णय गरेको छ ।

टोखामा अहिलेसम्म ९२ जनामा कोरोना सङ्क्रमण देखिइसकेको छ । तीमध्ये ६३ जना सक्रिय संक्रमित छन् । नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै शनिबार मात्र १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*