मंगलबार कोरोनाबाट थप ४ को मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय १३ पुग्यो

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार ०३:२६

भदौ, काठमाण्डौ – कोरोना संक्रमणका कारण आजै मात्र थप ४ जनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको  हो ।

नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मंगलबार उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उहाँ साउन ३२ गते मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । हिजो दिउँसो उहाँको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

उता, काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।

स्वासप्रश्वास र घाँटीमा सममस्या भएपछि उनलाइ साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो ।

यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सगै देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*