चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार ०८:१५

भदौ, काठ्माण्डौ – कोरोना संक्रमणको विश्वव्यापी महामारीका बखत विदेशमा अलपत्र नेपालीको उद्धार गरिरहेको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले सोमबारबाट अनिश्चितकालका लागि चार्टर्ड फ्लाइट स्थगित गरेको छ ।

पर्यटन मन्त्रालयको अनुरोधमा सिसिएमसीले चार्टर्ड उडान स्थगित गरेको हो । सिसिएमसीका अनुसार जिल्लाव्यापी रुपमा निषेधाज्ञा र लकडाउन लागू गर्न थालिएपछि विदेशबाट गर्न लागिएका उद्धार उडान अनिश्चितकालका लागि रद्ध गर्न पर्यटन मन्त्रालयले सिसिएमसीलाई चिठी लेखेको थियो ।

निषेधित क्षेत्र तोक्ने क्रम बढ्दै गर्दा क्वारेन्टिनका लागि होटलको व्यवस्था भएको जानकारी नआएकाले यसअघि दिइएको उद्धार उडानको अनुमति स्थगन गर्न सिसिएमसीले निर्देशन दिएको हो ।

सोही अनुरोधका आधारमा उद्धार उडानहरू तत्कालका लागि स्थगित गरिएको सिसिएमसीले जनाएको छ। कोरोना संक्रमण दर तथा जिल्लाव्यापी लकडाउन सहज नभएसम्म चार्टर्ड फ्लाइट स्थगित गरिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

‘आउने मान्छेलाई राजधानीमै व्यवस्थापन गर्न क्वारेन्टाइनको अभाव र राजधानीबाहिर जारी निषेधाज्ञा तथा लकडाउनका कारण तत्काल कहाँ व्यवस्थापन गर्ने भनी पर्यटन मन्त्रालयले व्यवस्था मिलाउन समय मागेकाले केही समय उद्धार उडान स्थगित गरिएको हो,’ पौडेलले भने।

अहिले विदेशबाट आइरहेका नेपालीलाई होटलको क्वारेन्टिनमा राखेर पिसिआर परीक्षणपछि सम्बन्धित प्रदेश र जिल्लामा पठाउने काम भइरहेको थियो। तर, होटल क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने राय आएपछि मन्त्रालयले सिसिएमसीलाई केही समय चार्टर्ड फ्लाइट स्थगित गर्न अनुरोध गरेको थियो।

सिसिएमसीका अनुसार हालसम्म विभिन्न ३० देशबाट ५१ हजार ४४१ नेपालीको उद्धार भइसकेको छ। पौडेलका अनुसार चाँडोभन्दा चाँडो पर्यटन मन्त्रालयले होटल क्वारेन्टाइनको व्यवस्थापन गर्ने र सोहीअनुसार परराष्ट्र मन्त्रालयले उद्धार उडानको व्यवस्थापनका लागि सहजीकरण गर्ने छ। पर्यटन मन्त्रालयले भने आधिकारिक रुपमा ‘रेस्क्यु फ्लाइट’ स्थगित गर्न सिसिएमसीलाई अनुरोध गरेकोबारे प्रतिक्रिया दिएको छैन।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नका लागि अनुमति दिने यसअघि समितिले नै निर्णय गरेको थियो।
यो अवधिमा कूल ४३ उडान हुने बताइएको थियो।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म र हिमालय एयरलाइन्सले १६ देखि ३० अगष्टसम्मको उद्धार उडान तालिका बनाएका थिए । यो समाचार हामीले सेतोपाटी अनलाइन बाट साभार गरेका हौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*